» » ग्याष्ट्रिकले सतायो ? होस गर्नुहोस गम्भीर असर पर्न सक्छ ! घरमै यि उपचार गरेर ग्याष्ट्रिक निको पार्न सकिन्छ !

नेपालीहरुलाई चिनाउने रोगको रुपमा ग्याष्टिक रोग परिचित छ। नेपाली नागरिकता नै ग्याष्टिक रोग भए नभएको अनुसार दिनुपर्छ भनेर ठट्टा गरेर भन्ने गरेको पनि पाइन्छ। आज म यहि ग्याष्टिक रोगको बारेमा वृस्तितमा कुरा गर्न गइरहेको छु।



ग्याष्टिक रोग भनेको के हो?
मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) भनेर चिनिने यो रोगलाई साधारण बोलीचालीको भाषामा ग्याष्टिक वा ग्याष्ट्रिक भनिन्छ। यो रोगमा पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना अरुची हुने, पेट ढुस्स फुलेको,भरिएको जस्तो लाग्ने हुन्छ। धेरै बढेको बेलामा खप्नै नसक्ने गरेर पेट दुख्ने, कालो दिसा हुने र कहिलेकाही पेट अर्थात आमाशयमा प्वाल परी त्यसको खराब असरले गर्दा ज्यानै जाने पनि हुन्छ।

किन र कसरी हुन्छ यो ग्याष्टिक रोग?
हामीले खाएको खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका साथसाथै हाइड्रोक्लोरिक एसिड (Hydrochloric acid) भनिने एक खालको कडा अम्ल पनि हुन्छ। यो अम्लको उत्पादन हाम्रो आमाशयभित्र हुन्छ र यसको काम खाना पचाउनलाई सहयोग गर्नुका साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ। अब प्रश्न उठ्छ कि यस्तो कडा अम्ल हाम्रो आमाशय भित्र हुँदा पनि आमाशयलाई किन केही असर नपरेको होला। किनभने आमाशयलाई यो अम्लबाट बचाउनका लागि हाम्रो शरीरमा विभिन्न प्रकि्रयाहरु हुन्छन्। जस्तै आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस (Mucus)निकालिरहेको हुन्छ जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ। त्यस्तै उक्त अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट(Bicarbonate) एक प्रकारको क्षार पनि उत्पादन भइरहेको हुन्छ।
यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकि्रयाहरुको सन्तुलनमा गडबडीका कारण तपाईहामीलाई ग्याष्टिक वा ग्यास्ट्राइटिस रोग लाग्छ।
यसका कारणहरुमा हेलिकोब्याक्टर पाइलोरी (Helicobacter pylori) भन्ने किटाणुको संक्रमण अग्रपंक्तिमा पर्छ। नेपाल जस्ता अविकसित देशहरुमा ८०% भन्दा बढि मानिसहरुमा यो किटाणुको संक्रमण भएको अध्ययनहरुमा देखिएको छ।
त्यस्तै धुम्रपानको कारणले पनि यो रोग हुने सम्भावना बढ्न जान्छ। NSAIDs (Non-steroidal anti-inflammatory drugs) जस्तै ब्रुफेन निम्स आदि दुखाइ कम गर्ने औषधीहरुको अत्यधिक सेवनले पनि यो समस्या हुनेगर्छ।

यो रोगको शंका लागेमा वा यो रोगको पहिचानका लागि के के जाँचहरु गर्न सकिन्छ?
साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लगाउने गरिन्छ, यो तरिकालाई क्लिनिकल डायगनोसिस (Clinical Diagnosis) भनिन्छ। माथि भनिएका लक्षणहरु पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्याष्ट्रिक वा ग्यास्ट्राइटिस रोग भनी भन्ने गरिन्छ। तर कहिलेकाही अरु रोगहरुसंग झुक्किने हुँदा र यो रोगको अरु जटिल अवस्थाहरु भइसकेका छन् की छैनन् भनी थाहा पाउनका लागि केही जाँचहरु गर्ने गरिन्छ।
जस्तै- यो रोगमा कहिलेकाहीं छाति पोल्नुका साथै दुख्ने पनि हुन्छ र मुटुका रोगहरुसँग झुक्किने हुन्छ। त्यसैले त्यस्तो बेला मुटुको रोग हो होइन भनि छुट्याउनका लागि मुटु सम्बन्धि जाँचहरु (इसिजी, मुटुका इन्जाइमहरुको मात्रा आदि) गर्नुपर्ने हुन्छ। त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटाइटिस/ Pancreatitis (प्यान्क्रियाज/ Pancreas को इन्फ्लामेसन),एपेन्डिसाइटिस/ Appendicitis (एपेन्डिक्स/ Appendix को इन्फ्लामेसन),कोलेसिस्टाइटिस/ Cholecystitis (पित्तथैलीको इन्फ्लामेसन) आदि रोगहरुसंग झुक्किने हुन्छ। त्यसैले ती रोगहरुबाट छुट्याउनका लागि रगतका विभिन्न जाँचहरु,पेटको भिडियो एक्स-रे आदि गर्नुपर्ने हुन्छ।
साथै कुनैकुनै अवस्थामा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिस रोगमा हुनसक्ने जटिल अवस्थाहरु जस्तै ग्याष्ट्रिक अल्सर (आमाशयको भित्री भागको सतह खिइएर घाउ हुनु),ड्युडेनल अल्सर (सानो आन्द्राको अल्सर), आमाशय वा आन्द्रामा प्वाल पर्ने(Perforation of peptic ulcer or duodenal ulcer) आदि भए नभएको थाहा पाउनको लागि अप्पर इन्डोस्कोपी/ Upper Endoscopy (मुखबाट पाइप छिराएर पेटमा घाउ भएनभएको हेर्ने जाँच गर्ने), पेटको एक्स-रे गर्ने आदि गर्नुपर्ने हुन्छ।


त्यस्तै हेलिकोब्याक्टर पाइलोरी/ H. pyloriकिटाणुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ। यसका जाँचहरु नेपालका सबै अस्पतालहरुमा उपलब्ध नहुन सक्छन्।
यी सबै जाँचहरु र आफूलाई गर्न लागिएका जाँचहरुका बारेमा आफ्नो चिकित्सकसँग राम्ररी छलफल गर्नुपर्छ।

यो रोगबाट बच्न के गर्न सकिन्छ?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ। रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ। साथै दुखाइ कम गर्ने औषधीहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन। र रोगको शंका लागेमा तुरुन्त डाक्टरलाई देखाइ औषधी सेवन गर्ने रोकथामका उपायहरु अपनाउने गर्नाले यसका जटिल अवस्थाहरुबाट बच्न सकिन्छ।

यसको उपचार के हो?
घरेलु उपचारहरु जस्तै चिल्लो, पिरो, अमिलो कम खाने, पानी प्रशस्त मात्रामा पिउने, धेरै बेर खाली पेट नबस्ने आदि गर्नाले पनि यो रोगबाट धेरै छुटकारा मिल्छ। ग्याष्टिकको समस्या धेरै नै छ र घरेलु उपचारले मात्रै ठिक भएन भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
यो रोगका लागि चिकित्सकले प्रायः प्रयोग गर्ने औषधीहरुमा एन्टासिड (Antacid)आमाशय भित्रको अम्लको असर कम गर्नका लागि,  रेनिटिडिन (Ranitidine) जुन एसिलक, आर-टिन आदि नाममा पाइन्छ र प्रोटोन पम्प इन्हिबिटर (Proton pump inhibitor) प्राजोल समुहका औषधीहरु जस्तै ओमेप्राजोल (Omeprazole),प्यान्टोप्राजोल (Pantoprazole), एस्मोप्राजोल (Esmoprazole) आदि, जुन प्यान्टोप, प्यान ४० आदि विभिन्न व्यापारिक नामहरुमा पाइन्छन्।
साथै हेलिकोब्याक्टर पाइलोरी किटाणुको संक्रमणले गर्दा यो समस्या भएको हो भने ट्रिपल थेरापी (Triple therapy) भनिने उपचार पद्धति शुरु गरिन्छ, जसमा प्रायः क्लारिथ्रोमाइसिन/ Clarithromycin, एमोक्सीसिलिन/ Amoxicillin र ओमेप्राजोल/Omeprazole गरी ३ औषधीहरु ७ दिनको लागि प्रयोग गरिन्छ।
यी औषधीहरु हामीमध्ये धेरैजसोले साधारण ग्याष्टिकको औषधी त हो नि भनि चिकित्सकको सल्लाह विना प्रयोग गर्ने गर्छौं तर यिनका खराब असरहरु पनि हुन्छन् र चिकित्सकको सल्लाह विना यिनको प्रयोग गर्नु हानिकारक हुनसक्छ। अझ अरु रोगको औषधी पनि खाइरहनु भएको छ भने ती औषधीहरुसंग यसले प्रतिकि्रया (रियाक्सन/ reaction) गर्नसक्छ। त्यसैले यस्ता औषधीहरुको प्रयोग गर्नु अघि चिकित्सकसंग सल्लाह लिनु उचित हुन्छ।


र अन्त्यमा,
ग्याष्ट्रिक रोगमा धेरैले पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने, गोला हिड्ने गरेको बताउने गर्छन्। तर चिकित्सा शास्त्रमा ग्याष्ट्रिक/ ग्यास्ट्राइटिसमा त्यस्ता लक्षणहरु हुन्छन् भनेर भनेको छैन। त्यसो भने ती लक्षणहरु के हुन् त?


मेरो व्यक्तिगत अनुभवका आधारमा भन्ने हो भने पेटको माथिल्लो भागमा भुक्लुक भुक्लुक उफ्रने कुरा शरीरको सबैभन्दा ठूलो धमनी (रगत मुटुबाट शरीरका अन्य भागहरुमा लैजाने रक्तनली) एब्डोमीनल एओर्टा (Abdominal aorta) हो। यो मुटुको खुम्चने र फुक्ने प्रकि्रयासँगै खुम्चने र फुल्ने गर्छ। ग्यास्ट्राइटिसमा दुख्ने आमाशय, ड्युडेनमको ठिक पछाडी यो धमनी हुन्छ, त्यसैले ती ठाँउहरुमा दुख्ने बेलामा त्यहाँ छाम्दा उक्त धमनी चलेको छामिन्छ र ग्याष्ट्रिक रोगमा त्यो उफ्रेको जस्तो लाग्ने गर्छ। त्यस्तै गोला हिड्ने चाँही सानो आन्द्रा ठूलो आन्द्राहरुको नियमित चल्ने प्रकि्रया पेरिस्टाल्सीस (Peristalsis) हुनसक्छ। खाएको खाना पचाउनका लागि तलतल लैजानका लागि आन्द्राहरु नियमित रुपमा चलिरहने हुन्छन् र विरामीले त्यही चाल याद गरेको हुनुपर्छ।

About Unknown

Hi there! I am Hung Duy and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply